हेरोइनको कारोबार गर्ने त धीरेन्द्र पो थिए भनेर अन्तर्राष्ट्रिय रुपमा हल्ला फैलाएर कालो राजाको छवी उज्यालो पार्ने कोसिस भइरहेको छ। वास्तवमा हेरोइन तस्कर ज्ञानेन्द्र र उनका काका अन्नपूर्ण होटेलका मालिक थिए। "द किङ् अफ नेपाल" पुस्तकका लेखक जोसेफ पिट्रीको रिपोर्ट।
सन् १९७० मा पहिलोपल्ट म नेपाल गएको थिएँ। त्यो समय आम्ष्ट्रडाम वा लण्डनबाट शुरु भएर हाल समाप्त भइसकेको प्रख्यात हिप्पीहरूको जमाना थियो। हिप्पीहरूले खचाखच भरिएका यात्रुबसहरू नयासडकको पल्लो छेउ वसन्तपुर (जसलाई हिजोआज फ्रीक स्ट्रीट भनिन्छ) मा रोकिन्थे। सरकारी अनुमति प्राप्त पसलहरूमा गाँजा खुल्लारुपमा बेच्नु वैधानिक भएकोले नेपाल हिप्पीहरूका लागि स्वर्ग थियो। अफिमको बोट पाइँदैन थियो नेपालमा, न त अफिम र हेरोइन नै उत्पादन हुन्थे त्यतिबेला। त्यस्ता लागूपदार्थहरू नेपाली जंकीहरूका लागि उपलब्ध थिएनन्। हिप्पीहरूलाई भने भाङ्मात्रै गैरकानूनी थियो र काठमाडौं विमानस्थलमा भाङ्का साथ समातिएमा १०० अमेरिकी डलर जरिवाना तिराएर तुरुन्तै नेपालबाहिर पठाइन्थे उनीहरू।
सन् १९७१ मा राजा महेन्द्रको मृत्यु भयो र वीरेन्द्र राजा भए जुनबेला रेडियो नेपालबाट बजिरहेको एकहोरो शोकधून म अझै सम्झन्छु। पशुपति मन्दिरतर्फ बढिरहेको विशाल मलामीहरूको ताँती र स्वर्गीय राजाको काट्टो एकजना ब्राम्हणलाई खुवाएर हात्तीमाथि चढाई काठमाडौं उपत्यकाको चारभञ्ज्याङ् कटाइएको दृश्य बिर्सिनसक्नुको थियो। नेपालमा गाँजा/चरेस गैरकानूनी घोषणा गर्नुभन्दा अलिकति अघि म भारततर्फ लागेँ। तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन र उनले भर्खरै गठन गरेको लागूपदार्थ नियन्त्रण प्रशासन (डीईए) ले गाँजा/चरेसलाई नेपालमा (जहाँ हरेक शिवरात्रीका दिन सर्वसामान्यले समेत खान्थे) गैरकानूनी घोषणा गर्न नेपालका नया राजालाई ५-७ करोड अमेरिकी डलर दिएका थिए। गाँजा/चरेस नेपालमा गैरकानूनी घोषणा गरिएपछि हिप्पीहरू भारततर्फ धपिए। त्यो दिन वसन्तपुर क्षेत्र उजाड देखियो।
सन् १९८१ मा म नेपाल फर्किएँ जुनबेला हेरोइनको भाउ पूरै आकाशिएको देखेर छक्क परेँ। चरेश १९७० को तुलनामा २०-३० गुणा महँगो भइसकेको थियो र एकदमै कमसल खालको हेरोइन पनि कयौं गुणा महँगो। नेपालीहरू खैरो हेरोइन र गाँजावीच फरक छुट्याउँदैन थिए र हेरोइनलाई गाँजा भनेर सजिलै झुक्याउन सकिन्थ्यो। तर अब त्यस्तो रहेन। गोल्डेन ट्रिएंगल (थाइल्याण्ड, बर्मा र लाओस सीमावर्ती क्षेत्र) मा पाइने डबल युओ ग्लोब ब्राण्डको सर्बोत्तम सुनौलो हेरोइन पनि नेपालको नाकाबाट निर्यात हुन थालेको रहेछ। यस्ता हेरोइन बर्माबाट सेना र पुलिसको ट्रकमा राखेर पूर्वी नेपालको नाका हुँदै राजपरिवारका सदस्यहरूले नै ल्याउन थालेका रहेछन्। राजपरिवारका सदस्यहरूले लागूपदार्थको कालो व्यापार सर्लक्कै आफ्नो हातमा लिएका रहेछन्। हिप्पीहरूको एक जमानाको स्वर्ग नेपाल त हेरोइन निर्यात गर्ने मुख्य नाका पो भइसकेको रहेछ।
सन् १९८३ ताका म पुनः नेपाल जाँदा मेरा नेपाली सहयोगी र मलाई एकजना मन्त्रीको घरमा दिउँसोको खाना खान बोलाइयो। मेरो देश अमेरिकाको लस एञ्जेलसमा हुन गइरहेको ओलम्पकिक खेलमा नेपाली फुटबल टीम इतिहासमै पहिलोपल्ट भाग लिन गइरहेको खाना-पिनपछि ती मन्त्रीले बताए। तत्कालीन नेपाल ओलम्पिक समितिका इञ्चार्ज ज्ञानेन्द्रसँग आफूले काम गरिरहेको ती मन्त्रीले बताए। मेरो नेपालमा लामो उठबसका कारण ओलम्पिक खेलमा जानेहरूसँग पठाइन लागेको लागूपदार्थ मैले सम्हाल्न सक्ने उनीहरूले ठानेका रहेछन्। तर, मैले खासै वास्ता गरिन, उनीहरूले १ सय ५० किलो चरेसको कुरा गरिरहेको जस्तो लाग्यो। पछि ती मन्त्रीले मेरा नेपाली सहयोगीलाई नेपाली भाषामा १ सय ५० किलो हेरोइन लस एञ्जेलस पठाउने योजना सुनाए छन्। यो सुनेपछि मैले मेरा सहयोगीलाई तिमीले यी मन्त्रीलाई मेरो बारेमा जेसुकै प्रतिज्ञा गरेको भए पनि त्यसलाई बिर्सिनुस् भनिदेऊ भन्दिउँ कि जस्तो लाग्यो। तर, मैले आफैँले ती मन्त्रीलाई यो बिल्कुल असम्भव कुरा हो भनेँ, र लगत्तै उत्पन्न अप्ठेरो वातावरणमा म त्यहाँबाट हिँडे।
म अमेरिका फर्किएपछि मेरा पुराना मित्र प्याट्रिकलाई बृतान्त सुनाएँ। प्याट्रिकले मलाई भने, यदि तिमीले ती मन्त्रीको कुरा मानेको भए तिमी या जेलमा सडिने थियौ या त मारिने थियौ। नेपाली राजपरिवारले मलाई आफ्नो भरिया बनाउने योजनाको तानाबाना बुनेको रहेछ।
कालो राजकुमार भनेर चिनिएका ज्ञानेन्द्रलाई आफ्ना तस्कर सहयोगीहरूका साथ भक्तपुर दरबार स्क्वायरमा रहेको मल्ल राजाको प्रतिमा राति क्रेन लगाएर उखाल्नलाग्दा प्रहरीले रोकेका थिए। उक्त प्रतिमा उखालेर प्याक गरेर युरोपतिर पठाउने कालो राजकुमारको प्रयास त असफल भयो तर सो चोरी रोक्ने प्रहरी अधिकृत नै पछि बेपत्ता पारिए।
वीरेन्द्र र ज्ञानेन्द्रकावीचमा एउटा तीतो प्रतिस्पर्धा रहिरह्यो। यसको विजारोपण सन् १९५० मा तत्कालीन राजा त्रिभुवन र युवराज महेन्द्र राणाहरूको संभाव्य आक्रमणबाट बच्न दिल्ली भागेको बेला ३ वर्षे बालक ज्ञानेन्द्रलाई कामचलाउ राजा बनाइएका बखतदेखि नै भएको थियो। राजपरिवार दिल्लीबाट फर्केलगत्तै ज्ञानेन्द्रको श्रीपेच खोसियो। पछि ज्ञानेन्द्रले सधैँ जाँड-मत्थु दाजु वीरेन्द्रभन्दा आफू असल राजा हुनसक्ने सोचिरहे।
नेपालमा १९८० को दशकमा खैरो हेरोइनको प्रवेशको असर दरबारमा पनि पर्यो, जसको सिकार तत्कालीन युवराज भए जो उपचारका लागि स्विटजरल्याण्ड पठाइएको हल्ला त्यस बेला चलेको थियो। १९८४ मा नेपाली फुटबल टीम १ सय ५० किलो हेरोइनका साथ लस एञ्जेलसमा समातियो। सो समाचार तुरुन्तै संचारमाध्यमहरूमा फैलियो तर त्यतिकै सेलायो र पछि यसबारे कतै चर्चा भएन। त्यसको एकवर्ष पछाडि राजपरिवारको स्वामित्वमा रहेको अन्नपूर्ण होटेल र केही सरकारी भवनहरूमा बम विष्फोट भए, शायद त्यो लस एञ्जेलस गोलमालसँग सम्बन्धित थियो।
सन् १९८६ मा हेनरी किसिञ्जर र लागूपदार्थ नियन्त्रण अधिकारीहरूको एउटा समूह दक्षिण एशियाली सहयोग संगठन सार्कको सम्मेलनमा भाग लिन काठमाडौं आएका थिए। उनीहरूले असन गल्लीको कालो बजारमा दुईकिलो खास्सा हेरोइन ट्राभलचेक प्रयोग गरेर किने। उनीहरूले सो हेरोइन प्रहरी महानिरीक्षक डीबी लामाको टेबलमा फालिदिए र नेपाललाई दिइँदै आएको अमेरिकी सहयोग नै बन्द गर्ने चेतावनी दिए। ती अमेरिकी अधिकारीहरूले नेपालमा रहेका सारा लागूपदार्थ तस्करहरूको सूची तयार पारे। रातारात धेरै विदेशी र केही नेपाली समातिए र हिरासतमा कोचिए। धेरैजसो त निर्दोष नै परेका थिए। साबिती बयान बकाउन पक्राउ परेकाहरूलाई कठोर यातना दिइयो। डीबी लामालाई दरबारले लागूपदार्थ तस्करीमा ढालको रुपमा प्रयोग गरेको थियो। त्यतिखेरको प्रहरी खोजबिनबाट बचेर म चाहिँ बैङ्ककतिर लागें र १९८८ सम्म नै नेपाल फर्किनँ। पछि डीबी लामा समातिए। लामाको घरमा फुस्रो रंगले पोतिएका पाइपहरु फेला परे जसभित्र सुनै-सुन थियो र विदेशी नगदका बिटा भएका थुप्रै बाकसहरू पनि फेला परे। मलाई लाग्छ, हेनरी किसिञ्जरको समूहले प्रयोग गरेको ट्राभलचेक पहिल्याउँदै जाँदा प्रहरी महानिरीक्षक लामासम्म पुग्यो। त्यसैले दरबार लामालाई बली चढाउन बाध्य भयो।
पछि १९९० मा विद्यार्थीहरूले प्रजातन्त्रका लागि प्रदर्शन गर्दा उनीहरूलाई राजाले मध्ययुगीन बर्बरतापूर्ण दबाएको समाचार विश्वभर फैलियो र अन्ततः राजा वीरेन्द्र बहुदलीय व्यवस्था पुनःस्थापना गर्न बाध्य भए। पाकिस्तानसँग हवाइ सम्झौता भयो र काठमाडौं र कराँचीवीच सिधा हवाइ सम्पर्क शुरु भयो। दुई मुलुकका सेनाहरूको सम्पर्क बढाइयो र अफगानिस्तानको हेरोइन काठमाडौं पस्न थाल्यो। नेपाल अब विश्वको हेरोइन बजारमा एउटा प्रमुख खेलाडी बन्न पुग्यो।
प्रजातन्त्र आएपछि सरकार फेरियो तर ती सरकार एकपछि अर्को भ्रष्टाचारी निस्किए। १९९६ मा माओवादीले सशस्त्र विद्रोह शुरू गरे जुन रक्तपातपूर्ण संघर्षमा १२ हजारभन्दा बढीको ज्यान गइइसकेको छ।
वीरेन्द्रले शाही नेपाली सेनालाई माओवादीविरुद्ध परिचालन गर्न मानेनन् र त्यसको भयानक असर १ जुन २००१ मा राजदरबार आमहत्याकाण्डको रुपमा देखा पर्यो। कालो राजकुमारको राजा बन्ने बाटो छेक्ने एक-एकलाई मारियो। धेरै संचार माध्यमहरूले आज यसलाई पारिवारिक झगडाबाट उत्पन्न गोलिकाण्डका रुपमा चित्रण गर्छन्। तर यो त कालो राजकुमार र सेनाको प्रत्यक्ष संलग्नता तथा विदेशी स्वार्थ र आशिर्वादमा रचिएको एउटा योजनाबद्ध हत्याकाण्ड थियो। युवराज दीपेन्द्र ज्यान बचाउन भागेर बालाजु ब्यारेकमा पुग्दा सो ब्यारेकभित्रै उनको हत्या गरिएको मैले सुनेको छु।
नगन्य नेपालीहरूले मात्र सरकारी प्रतिबेदनको विश्वास गर्छन्। दीपेन्द्र लामो समयदेखि हेरोइन र मदिराको अम्मली भएपनि सोझो व्यक्ति थिए। मदिरा दुरुपयोगका कारण खराब स्वास्थ्य भएका वीरेन्द्रको अकस्मात निधन भएको खण्डमा जंकी भतिजालाई कालो राजकुमारले कुनै हालतमा राजगद्धीको उत्तराधिकारी हुन दिनेवाला थिएनन्। सेनाले पनि त्यस्तै महसूस गरिदियो र अहिले कालो राजकुमार नेपालको राजा भएका छन् जसले आफ्नो बाउको जस्तै कठोर शासन पनि मुलुकमा फर्काएका छन्।
अमेरिकामा भएको सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछि नेपालले आतंकवाद विरुद्धको लडाइँको समीकरणमा आफूलाई मिसायो र अफगानिस्तामा बम खसाल्न उडेका अमेरिकी लडाकू विमानहरूलाई आफ्नो आकाशमाथि उड्न दियो। राजाले माओवादीलाई आतंककारी घोषणा गरे र अमेरिका, बेलायत र भारतबाट पहिला कहिल्यै नपाएको सहयोग पाउन थाले। अमेरिका र बेलायतको विशेष दलले शाही नेपाली सेनालाई तालिम दिइरहेको छ। राजाले ४ सय विदेशी सेनाको डफ्फा भाडामा लिएका छन् जसले नेपाली सेनालाई युद्धमैदानमा नेतृत्व दिइरहेको छ। कालो राजाले अमेरिकी सहयोगवापत बुश प्रशासनलाई के प्रतिज्ञा गरेका होलान् त?
नेपालको शाही परिवारको अमेरिकी गुप्तचर संस्था सीआईएसँग लामो सम्बन्ध छ। १९६० र ७० को दशकताका सीआईएले चीनसँगको सिमाना छुट्याउने तिब्बत श्रृंखलासँग जोडिएको लो मुस्ताङ्मा आधार खडा गरेको थियो। त्यहीबाट तालिम प्राप्त तिब्बती खम्पाहरूले चीनमाथि हमला गरेका थिए। अहिले भारतदेखि लो मुस्ताङ् जोड्ने सडक खनिँदै छ र यो प्रष्टै छ, यसलाई भविष्यमा त्यस्तै प्रयोजनमा ल्याइने छ।
यतिखेर माओवादीले ग्रामिण इलाकाको ८५ प्रतिशत कब्जा गरेको छ। पश्चिमको ५ वटा जिल्ला पूरै माओवादीको कब्जामा छ। किसान-युवक र भारतका कोठीहरूमा बेचिनबाट जोगिएका युवतीहरू माओवादीको हतियार बोकेर हिँडेका छन्। एउटा स्वतन्त्र निर्वाचनले नेपालमा पक्का समाजवाद ल्याउन सक्छ र जनताले भोट दिन पाएका खण्डमा राजतन्त्रको अन्त्य गराउने पक्षमा अत्यधिक बहुमत पर्नेछ। माओवादी जनयुद्ध झण्डै अढाई सय वर्ष पुरानो सामन्तवादको विरुद्ध उठेको राष्ट्रवादी आन्दोलन हो। भारत जोड्ने वीरगञ्जदेखि काठमाडौंसम्मको सडक माओवादीको आह्वानमा सजिलै ठप्प हुन्छ। शाही नेपाली सेना काठमाडौं र काठमाडौंलाई आपूर्ति गर्ने सडकको सुरक्षामा खुम्चिएको छ।
१ फेब्रुअरी २००५ मा कालो राजाले सरकार अपदस्त गरी संकटकाल लागू गरे। उनले टेलिफोन, इण्टरनेट र हवाइ सम्पर्क कटाएर बाहिरी दुनियासँग सम्पर्क बिच्छेद गरे। कालो राजाले पूर्ण शासन हातमा लिए र संविधानमा भएको प्रेस स्वतन्त्रता, मौलिक हक र कानूनी उपचारको कटौती गरे। हजारौं पक्राउ परे र नेताहरू नजरबन्द गरिए। पोखरामा विरोधमा उत्रिएका विद्यार्थीहरूलाई हेलिकोप्टरबाट गोलि हानियो र २० जनालाई घाइते तुल्याइयो। आफ्नो बाउको कठोर मुड्के शासन फनक्कै फर्काए कालो राजाले।
आलोचनापूर्ण लेख छापिएको टाइम पत्रिका काठमाडौंका पसलहरुमा आइपुग्यो तर सो पाना तुरुन्तै झिकियो। हिटलर, स्टालिन र सद्दामहरुको एकताका एकतन्त्रीय शासन थियो र त्यस्तै शासन कालो राजाले शुरु गरेका छन् नेपालमा। नारायणहीटी आम हत्याकाण्डदेखि नै हेरोइनको कारोबार गर्ने त धीरेन्द्र (जो मारिइसकेका छन्) पो थिए त भनेर अन्तर्राष्ट्रिय रुपमा हल्ला फैलाएर कालो राजाको छवी उज्यालो पार्ने कोसिस भइरहेको छ। वास्तवमा हेरोइन तस्कर ज्ञानेन्द्र र उनका काका अन्नपूर्ण होटेलका मालिक थिए।
नेपाल आज सन् १९७० को दशकको तुलनामा ८ गुणा गरिब छ। यो कसरी सम्भव छ जबकि त्यत्रो विदेशी अनुदान आइरहेको छ र कार्पेट, गार्मेण्ट र पर्यटन व्यवसाय बढेको छ? शाही परिवारले वास्तवमा मार्कोसले जस्तै नेपालमा आउने हरेक डलरको अंश चुसेको छ। नेपाल अमेरिकाको असफल वैदेशिक सहयोग नीति र आतंकवादको जन्म गराउने शास्त्रीय उदाहरण हो। आज हामी हेरोइनको कारोबार गर्ने असीमित शक्तिशाली तानाशाहलाई सहयोग गरिरहेका छौं जसले सहयोग राशी नेपालका विकट पहाड र जंगलमा हिँड्नलाई जुत्ता किन्न नसक्ने गरिब जनता मार्न प्रयोग गरिरहेका छन्।