कथै त होइन तर पुरानो एउटा त्यस्तै रमाइलो घटना याद आयो र लेख्न खोजेको है।
हामी सबैजना जाडोको बिदा मनाउँन धरान गएका थियौँ। बिदामा गएको मान्छेको खासै काम नहुने नि, त्यहि घर बस्यो, दिनभरी टिभी हेर्यो अनि बेलुका भएपछि निस्कियो तल चोकतिर अनि म:म: खायो हल्ला गर्यो पुराना साथीहरुसंग। माथी भेडेटार तिर अलि जाडो नै हुन्थ्यो त्यहिपनि कहिले काँहि त्यत्तातिर नि गयो। तर प्राय जसो त्यहि हो दिनभरी घरमा बसेर टिभी हेर्ने काम हुन्थ्यो।
एकदिन त्यस्तै घरमा टिभी हेरेर बसिरहेको थिएँ, हिते आइपुगेछ। हिते आउने बित्तिकै नयाँ नयाँ आइडियाहरु निस्किन सुरु भइहाल्थ्यो हाम्रो। प्राय जसो उस्ले नयाँ आइडिया लिएर आउँथ्यो। त्यो दिनपनि उस्को उत्साह देख्दा केहि रमाइलो गर्न पाइएला जस्तो लागेको थियो।
हिते आयो अनि मेरो छेउमा बसेर रिमोटले टिभीको च्यानल चेन्ज गर्दै भन्न थाल्यो, "यार कत्ति टिभीमात्र हेर्छस् तँ? यसो रमाइलो गरुम् न यो पल्ट!"
"के रमाइलो गर्ने? तैँ भन् न! म त जेमापनि रेडी हो क्यारे यो छुट्टी बिताउनको लागी!" मलाई नि रिमोट खेलाउँदा खेलाउँदा वाक्क भइसकेको थियो।
"सुन्! त्यो भान्जा छ नि! त्यस्को मामाको बे रइछ भोली! हाम्रो घरमा निम्तो कार्ड आएको रहेछ! जुम् भोली जन्ति! रमाइलो हुन्छ, जान्छस्?"
भान्जा भनेको चाँहि हाम्रो सानोमा स्कूल पढ्दाको साथी। त्यत्ति साह्रो मिल्ने त होइन तर एउटै टोलको भएकोले चिनजान थियो। उ चाँहि मामाघरमा सानै देखि बसेको र उस्को मामाहरुले उस्लाई सधै भान्जा भान्जा भन्ने गरेको हुँदा, उ सबैको भान्जा। हाम्रोपनि भान्जा!
हितेले बिहेको कार्ड नि लिएर आएको रहेछ। यसो कार्ड हेरेँ! त्यस्तै कार्ड त मैले नि देखेको थिएँ तर खासै याद गरेको थिइन। हत्तपत्त गएर निम्तो कार्ड राखेको ठाउँमा गएर हेरेको त हामीलाईपनि आएको रहेछ बिहेको निम्तो। त्यसै बोर भइरहेको बेला बे को जन्ति जान पाएको हामीलाई के खोज्चस् कानो? आँखो! भने जस्तो भइहाल्यो।
"तर जन्ति त बिराटनगर जानुपर्ने रहेछ नि!" मैले कार्ड राम्ररी हेर्दै सोधेँ
"हो त! दामी हुन्छ यार! तैँले बिराटनगरको बिहे देखेको छस्? यहाँको भन्दा दामी हुन्छ! हिन्दी सिनेमा जस्तो! अन्ताक्षरी खेल्नु मज्जा हुन्छ बुझिस छब्कीहरु संग!" हितेलाई यस्तो कुरा थाहा नहुने कुरै थिएन।
"त्यसो भए दिपेनलाईपनि लैजाम न त!" दिपेनलाई छुटाउन मन लागेन मलाई!
"ह्या! दिपेन गयो कि आफ्नो त मार्केट नै खत्तम हुन्छ यार! यो पल्ट चाँहि बिराटनगरमा एउटी पट्याउने बिचार गरेको त झन!" हितेले गुनासो पोख्यो।
"हैन यार! दिपेनलाई कन्ट्रोल गर्ने काम मेरो भयो। त्यो बिहेको हिरो तँ हुने भइस!" भनेर मैले हितेलाई सम्झाएपछि मात्रै उ दिपेनलाई लान तयार भयो।
हामीले दिपेनलाई फोन गर्यौँ, उ पनि जान तयार भयो। अब भोलीको बिहेको लागी लुगाको छलफल भयो। हिते सुट भन्दा तल झर्नै मानेन। सुट लगाएरै जाने निधो भयो।
"अब भोली जन्ती जाने भएपछि आज यसो बिहे घरमा गएर केहि गरेजस्तो गरुम् न त। भोली एक्कासी झुल्किनु भन्दा त हामी नि आउँदै छौँ है भनेर अहिले नै थाहा दिनु राम्रो होला नि!" भनेर मैले भनेपछि हिते र म लागेम् बिहेघरमा!
बिहेघरमा निकै भिडभाड थियो। हामी गएर भान्जा संग भेटघाट गर्यौँ। बेहुलाको कार सिगार्ने कामको जिम्मा हितेले लिइहाल्यो। त्यत्ति भएपछि बेहुला (भान्जाको मामा!) हाम्रो जिग्री बनिहाले। यत्ता उत्ती गरेर हामी केटाहरुको लागी चाँहि एउटा बेग्लै जीपको ब्यवस्था गरेर भोली बिहानै बिहेघरमा हाजिर हुन आउने बचनका साथ हामी त्यहाँबाट बिदा भइम्।
भोलीपल्ट अलि छिट्टै बिहेघरमा पुगेर बेहुलाको कार सिँगार्ने काम गरियो। अनि हाम्रो लागी भनेको गाडीको ड्राइभर संग चिनजान, दोस्ती गरेर हामी जन्ति जान तयार भएम्। तल तिनकुने सम्म बाजा बजाउँदै गइयो अनि त्यहाँ बाट तुफान गाडी हाँकेर बिराटनगर सम्म पुगियो। बिराटनगरको महेन्द्रचोक कटेपछि सबैजना उत्रेर बाजा बजाउँदै कोहि नाँच्दै जन्ति लिएर बेहुलीको घर जनपथटोलतिर लागियो।
दिपेनलाई मैले कोन्ट्रोल गर्नुपर्ने भएकोले म र दिपेन चाँहि अलि पछि पछि हिड्यौँ, हिते चाँहि ब्यापक नाँच्दै थियो सबै भन्दा अगाडी। बल्ल बल्ल बिहेघर पुगियो। खुब सजाएर राखिएको थियो त्यो बिहेघर।
"साँच्चिकै राम्रो हुने रहेछ बिराटनगरको बिहेघर!" मैले झिलिमिली घर देखाउँदै दिपेनलाई भनेँ।
"हो यार! झन बिराटनगरको क्लासिक केटीहरुको त कुरै नगर!" दिपेन झन एक्स्पर्ट पर्यो।
"ल दिपेन ब्रो! तिमी चाँहि आज सपोर्टिङ रोलमा मात्रै है! आजको मेन हिरो हिते हो!" मैले हितेलाई पहिले बचन दिइसकेको थिएँ।
"हा हा हा! ल ल यार! हितेलाईपनि ठुलो पिडा छ!" भन्दै दिपेनले मेरो कुरा मान्यो।
बिहेघरमा स्वयंबर सुरु भयो। हामी चाँहि बफे तिर लाग्यौँ। हिते स्वयम्बर मै ब्यस्त थियो। पुरा चल्तापुर्जा देखिन्थ्यो उ त्यो बिहेको!
एकछिनपछि हिते हामीलाई खोज्दै खाने ठाउँमा आइपुग्यो।
"यार तिमीहरु यहाँ पो छौ? बाहिर कस्तो रमाइलो भइरहेको छ यार! बेहुली माइजुको साथीहरु त दामी दामी रैछन्।" हितेले त्यत्ति धेरै उत्साहित भएको हामीले कहिले देखेका थिएनौँ।
"ल हिते! आज चाँहि तेरो पालो है! आजपनि सकिनस् भने केहि हुन्नेवाला छैन तेरो!" मैले फेरि उक्साएँ।
हामी यस्तै गन्थन् गर्दै थियौँ, त्यत्तिकै मा एक हुल केटीहरु हामीहरु भएतिर आए। मलाई हितेलाई भनेर तिनीहरु संग कुरा सुरु गर्न मन लाग्यो। यसो हितेलाई इशारा गरेपछि उस्ले तिनीहरुलाई, "खोइ हामी जन्तिहरुलाई चिसो पानी नखुवाउने?" भनेर बोलायो।
एउटीले, "यस्तो जाडोमा पनि चिसो पानी?" भनेर जवाफ दिइन्।
"बाहिर त जाडो नै थियो अब यस्तो यस्तो मान्छेहरु देखेपछि त पानी पिउनै पर्यो नि" दिपेनले मुख खोल्यो।
केटीहरु खितितिति हाँसेर गए। हितेले दिपेनलाई हेर्दै मुर्मुरियो। मैले हितेलाई थम्थमाएँ। दिपेनपनि हाँस्दै, "सरी यार! यस्तो बेलामा भन्ने कुरै यहि हो! तिमीले भनेनौ त्यहि भएर मैले भन्देको तिम्रो तर्फ बाट!" भनेपछि हिते शान्त भयो।
"तर यार! त्यो केटीहरु त हाँसेर मात्रै गए नि, पानी चाँहि आउने भएन नि" हितेले गुनासो पोख्यो।
त्यत्तिकैमा त्यहि ग्रुपको एउटी निकै राम्री केटीले एउटा ट्रेमा पानी लिएर आइन्। हामी मख्ख! त्यो केटी पर बाट हामीहरुलाई हेर्दै मुसु मुसु हाँस्दै पानी लिएर आउदै थिइन्। यता हिते चाँहि, "लु यो मेरो है! कसैले आँखा नलगा!" भनेर हाम्रो बाटै बन्द गरिदियो।
उस्ले ल्याएको पानी तिनैजनाले खायौँ। मलाई त तिर्खा लागेको नि थिएन तर त्यस्ती अप्सरा जस्तीले ल्याएको पानी त के बिषपनि सिनित्तै पार्न सकिन्थ्यो। हामीले पानी खायौँ अनि उस्को ट्रेमा ग्लास राख्दै "धन्यवाद!" भन्यौँ।
"तपाइँहरु काठमान्डौ बाट आउनुभएको हो?" भनेर उस्ले कुरा झिकि।
"हो! जाडो बिदामा आएको!" हिते मस्कियो।
"चाहबिल तिर हो?" उस्ले अर्को प्रश्न तेर्साइ।
"हो! तिमी नि?---" भनेर हितेले सुरु गर्दै थियो, उस्को साथीहरुले तानेर लगे उस्लाई। उस्ले नि हामीलाई हेर्दै हाँस्दै गइ। उ संगै हाम्रो हितेको मुटु फुत्रुक फुत्रुक उफ्रदै गएजस्तो लाग्यो हामीलाईपनि।
"यार! यो त उतै कि जस्तो छ। चिनेको त होइन?" मलाई संका लाग्न थाल्यो।
"खोइ कुन्नी यार! तर हामीलाई त्यत्तातिरको जस्ले नि चिन्छ होला नि। उस्ले चिन्नु कुन नयाँ कुरा भयो र?" हितेले मेरो कुरोलाई मामुली ठानेर उढायो।
"तर कुम्स पाट! त्यस्ले तिमीलाई हेरेर सोधेकी थिइ नि" दिपेनले कुराको अर्को पाटो खोल्यो।
"ह्या होइन होला!" मैले कुरो नसुने जस्तै गरेँ। तर मलाई नि त्यस्तै लागेको थियो।
एकैछिन पछि खानपिनको काम सकियो। ति केटीहरु संग जिस्किदै बस्न रमाइलो भइरहेको थियो। अनि राती हुन थालेपछि आधा जन्ती ग्रुपहरु चाँहि घर फर्के। हामीहरु चाँहि त्यहि बस्यौँ।
"लु अब अन्ताक्षरी सुरु गर्नुपर्छ!" हिते एक्कासी जङियो।
"गाउन आउनेहरुले पो फुर्ती लगाउने हो त!" खोइ कोल्ले त्यहि केटीहरुको ग्रुपबाट भनिन्।
"बाजी खेलौँ न त। जस्ले जित्छ, बेहुलाले उस्लाई हजार रुपिया दिने!" दिपेनले प्याच्च बोल्यो। बेहुला झसङ्ग भएर हामीतिर हेरे।
"बाजी हो भने खेल्ने त्यत्तिकै त हुन्न!" भन्दै केटीहरु कराउन थालेपछि, बल्ल बल्ल हाम्रा बेहुलाले दाँतबाट पसिना झार्दै "हुन्छ!" भने। अनि अन्ताक्षरी सुरुभयो।
निकै बेर खेलियो अन्ताक्षारी। दिपेन चाँहि बिच बिचमा मलाई कोट्याउदै, "यार त्यो केटीले तिमीलाई हेरिरहेकी छ।" भन्थ्यो। म पनि यसो हेर्थे आफुँलाई नै हेरे जस्तो लाग्थ्यो। अनि हितेलाई अघि बढाउदै गाउन लगाउथेँ। केटीहरु संग हाम्रो के लाग्थ्यो। हामी हार्यौँ। बेहुला त्यसै त कालो मान्छे, त्यो हजार रुपिया दिनुपर्दा निलै भएका थिए।
राती चिया पिउन मन लाग्यो हाम्रो हितेलाई एक्कासी। "ओइ! जा न चिया अर्डर गर न!" भनेर मलाई भन्न थाल्यो।
"तँ जा न! यहि त हो नि मौका!" मैले उस्लाई फेरि उकासेँ।
हिते गयो तर एकैछिनमा फर्कियो। "यार! खोइ कोहि नि मान्दैन चिया पकाउन!" खुइया गर्दै उ मेरो छेउको कुर्सीमा बस्यो।
दिपेनले मलाई, "जौ ब्रो तिमी! एकचोटी तिमी ट्राई गर न त!" भन्दै घचेट्यो। म अल्छि लागी लागी गएँ केटीहरु भएको तिर। म त्यहाँ आएको देखेर त्यहि अघिको केटी जुरुक्क उठि र सोधी, "साँच्चिकै चिया पिउन मनलागेको हो?"
"हजुर! चिया पिउन पाए राम्रो हुन्थ्यो!" मैले संकोच मान्दै भनेँ।
"भइहाल्छ नि! म बनाएर ल्याउँछु है!" भन्दै उ गइ माथी।
म फर्केर आएँ। दिपेनले मलाई हेर्दै आँखा सन्कायो। हितेलेपनि थाहा पायो दिपेनले आँखा सन्काको।
"ओइ! के हो कुरा?" हिते नजिकै आएर बस्यो।
"होइन यार केहि होइन! यो दिपेन ब्रो बेकारमा!" मैले भनेँ।
"तिमी जेसुकै भन ब्रो! त्यो केटीले तिमीलाई अघि देखि नै मार्क गरिरहेकी छ। मेरो आँखाले धोका खाँदैन।" दिपेनले ठोकुवा गर्यो।
"ए! कुरा त्यस्तो पो! मलाई डबल क्रस!!" हिते सेन्टी भयो।
"त्यस्तो होइन यार! त्यो तेरै हो हिते!" मैले हितेको मरेको आश जगाउन खोजेँ।
"होइन यार! मलाई नि त्यस्तै लागेको थियो अघि नै बाट। भन्नु मात्रै नसकेको हो! हामी त साथी साथी यार! त्यस्तो केहि हुन्न! ल तिमीपनि यसो रेसिप्रोकेट गर न त!" हिते मेरो असल मित्र हो।
"ह्या होइन क्या!" भन्दै म पछि सर्न खोजेँ तर केटाहरुले चल्न दिएनन्।
एकछिनपछि चिया आइपुग्यो। उस्ले मलाई हाँस्दै चिया दिइ अनि अरु केटाहरुलेपनि चिया लिए। अनि यस्तै हेर्दै आँखा जुदाउदै रात बितेको पत्तै भएन।
भोली पल्ट बेहुली अन्माउने बेला भयो। सबैजना हिन्ने तयारीमा थियौँ।
दिपेनले मलाई कोट्यायो। मैले, "के भयो?" भनेर सोध्दा, "उ त्यहाँ हेर!" भन्यो। यसो हेरेको त त्यो केटी हामी तिरै आउदै रैछ। मलाई अफ्ठ्यारो लागिरहेको थियो। मेरो छेउमा आएर उस्ले मलाई बोलाइ। म उस्को नजिकै गएँ। केटाहरुले मलाई हेरिरहे। म उस्को नजिकै पुगेँ।
"किन बोलाएको?" मैले सोधेँ।
"तिम्रो नाम क्यामो हो?" उस्ले सोधी।
"हो! कसरी थाहा भयो?"
"तिम्रो अनुहार ठ्याक्कै तिम्रो दिदी संग मिल्छ। तिम्रो दिदी र म क्लास मेट हो मिनभवन क्याम्पसमा। मलाई हिजै देखि त्यस्तै लागिरहेको थियो अनि सोध्न खोजेको मिल्दै मिलेन!"
म चुपचाप हेरेर हाँसे अनि लुसुक्क परेर, "पछि हाम्रो घरमापनि आउनुहोस न है!" भन्दै फर्केँ।
समाप्त