ओस्ताज
शनिबारको त्यो दिन साँझले ओछ्याईदिएको बिछ्यौनामा ढल्किदो थियो। हामी चुरोटको धुवाँ संगै गफ उडाउँदै थिम धुम्बाराहीमा। हामी भन्या उही बाङ्गे, म, सुपारी, छ्याक, झ्यालिन्चा, ट्वाक र ओस्ताज।
ओस्ताजलाई त्यो नाम कस्ले कहा के समारोहमा दियो अथबा के कस्तो योगदानको आधारमा उस्ले त्यो उपाधि पाएको थ्यो, थाह् थिएन त्यति बेला। पछि थाह भयो। कसरी? पैले गर्न ला कुरै सकम न --कसो? हाम्रो त्यस्तो नजिकको साथि पनि थिएन उ। बेला बेला गफ गाफ हुन्थ्यो तर न त उ हाम्लाई खोज्दै हिन्थ्यो न हामी उस्लाई।
दुई चार दिन अगाडीको कुरा हो, किस्न मन्दिर पछाडी बसेर हामी स्कुललाई सराप्दै चुरोट तान्दै थिम, उ आयो। हुन त उ सुईकाउन आएको रहेछ, तर हामीले चुरोट तान्या देखे पछि "कसैले ठुटो किच्न अथबा हुर्याउन ला हो भने ठुटो म तिर पास गर्द्याओ है--एक सर्को तानेर धित मार्छु म पनि" भन्यो सुईँकाउँदै।
सुईँकाईसकेर ओस्ताज ठुटो पर्खिदै थ्यो, बाङ्गेलाई के सुर चल्यो, अघि भरखर किन्या बट्टै दियो ओस्ताजलाई। उ त धन्य भएर एउटा खिल्ली झिक्दै थ्यो, बाङ्गेले बट्टै तेरो भो भन्यो। ओस्ताज पहिला त झस्केको जस्तो गर्यो पछि गदगद भो। उ पनि उस्को स्कुलको कुरा गर्न थाल्यो। हाम्ले खोज्या जस्तो स्कुल रहेछ उस्को त। उस्को कुरा सुनेर रमाईलो भा थ्यो त्यो दिन।
आज अघि हामी धुम्बाराही तिर लाग्दा पन्चेधारा नेर भेट भा थ्यो ओस्ताजलाई। बाङ्गेले त्यो अस्ति एक बट्टा चुरोट दिए देखि बाङ्गेको भक्त भा थ्यो उ। बाङ्गेले हिन धुम्बाराही तिर भने पछि उ पनि पछि लाग्यो।
तेरो स्कुलको गफ सुनान यार। बाङ्गेले धुम्बाराही मन्दिर अगाडीको चौरमा पुगे पछि ओस्ताजलाई भन्यो।
"के सुनाउने यार -- खत्तम छ नी -- झुरेस्ट इस्कुलाँ परीयो।" ओस्ताजले भन्यो।
"के को झुरेस्ट , मोज रे छ नी तेरो त" ट्वाकले भन्यो।
"त्यै त झुरेस्ट त हाम्रो पो छ त --" मैले भनें।
"तिमीहरुको इस्कुलाड त सबै पास हुन्छन रे हैन एसेल्सीमा? भुसुक्कै फस् डिभिजना पास हुन्छन रे -- हो?" उस्ले सोध्यो।
"खै अहिले सम्म सुन्या त्यस्तै हो तर हामी ज्यान देर लाग्या छौ त्यो रेकर्ड तोडन हेरम के कति गर्न सकिन्छ" बाङ्गेले भन्यो। हामी सबैले सही थपिम।
"तिमेरको इस्कुलाँ चै के धेरै सेकेन डिभिजन हान्छन?" सुपारीले ओस्ताज तिर हेर्दै सोध्यो।
"खै फेलको डिभिजन हुँदैन क्यारे -- हाम्राँ त प्राय: सबैले त्यै हान्छन। पास हुनेलाई त लाज हुन्छ रे भन्छन हाम्रो स्कुलाँ -- सबैले देखाउँछ्न रे उ त्यै हो त्यै हो पास हुने भनेर" ओस्ताजले कुरा सकेर गतिलो सर्को तान्यो।
"ह्या गफ दिने पनि हुन्छ नी यार ---आँखा चिम्लेर दिने?" छ्याकले ओस्ताजको कुरा पत्याएन।
"हो भन्या, बिद्यानस, लास्टयरको एसेल्सीमा हाम्रो फसब्याई त चिलिमच्वाँट -- अब आँखा चिम्लेर गफ देको भन्नी की खोलेर देको भन्नी हो।" ओस्ताजले उदाहरण सहित आफ्नो भनाईको रक्षा गर्यो।
"फसब्याई नै गुल्टियो रे?" झ्यालिन्चाले सोध्यो।
"अनि के त?" ओस्ताजले गर्बका साथ भन्यो।
"के खान त्यस्तो इस्कुलाँ गा त?" छ्याकले सोध्यो।
"अन्त काँ जानी त? आफुलाई भुटीभाङ केई आउँदैन -- फसमा त पढ्नै मन लाग्दैन-- यसो कैले काईँ पढम् न त भनेर पढ्यो पढ्यो लास्टाँ पुग्दा फस्टाँ पढ्या सबै भुस। यस्तो तालले काँ जानी?" ओस्ताजले नी सोध्यो।
"लास्टाँ पुग्दा फस्टाँ पढ्या भुस रे?" मैले सोधें।
"लास्टाँ नी पुग्नु पर्दैन-- है सातौं पेज पुग्दा भरखर पढ्या छ पेज बिर्सीसक्छु -- बर्बादै छ भन्या -- के गर्ने गर्ने--" ओस्ताज भन्दै थियो।
"अनि कसरी नौ सम्म पुगिस? नौ क्लासमा हैन त तँ पनि?" सुपारीलाई अचम्म लागेछ।
"त्यै भएर त यो इस्कुल नछोड्या त -- बर्ष भरी धाएसी कक्षा चढाईदिन्छन -- गुन चै लाकै छन इस्कुलाँ-- अब जति चोटी गुल्टिने हो एसएलसीमा गुल्टिने रे -- अर्को स्कुल गा भे अहिले सम्म कति चोटी चिप्लीसक्थेँ -- घराँ करार बसिसक्नु हुन्थेन -- अहिले यो साल सम्मलाई ढुक्क भो नी" ओस्ताजले सुनायो।
"तेरो इस्कुलबाट कोई नी पास हुँदैन त एसएलसीमा?" ट्वाकले सोध्यो।
"सेक्सन ए बाट कैले काई एक दुई जना उम्किन्छन रे--ए मा टप टप राख्ने रे बि मा पट्याँस पट्याँस -- अब बि बाट पास भा त रेकर्डै छैन रे" उस्ले भन्यो।
"तँ कुन सेक्सनाँ त?" मैले सोधें।
"अघि भरखर भन्या सुनीनस? सातौं पेजाँ पुग्दा भरखर पढ्या छ पेज बिर्सीसक्छ रे भन्या? अब फेरी के सोधीरा कुन सेक्सनमा भनेर?" बाङ्गेले सम्झायो।
"हो यार के ढाँटनी? म बि मै हो -- लास्टेर हिसाबमा बिषय लाग्यो न्त मेरो -- जम्मै गर्देर आईदेको थेँ के मिलेन छ के--थाहै भएन।" ओस्ताजले निर्धक्क भन्यो।
"स्कुलाँ के गर्छन त तेरो?" सुपारीले सोध्यो।
"आ-आफ्नै धुन गर्छन नी -- है नेपालीको मास्टर छ एउटा गँजडी --ह्वास्सै गनाउँछ पढाउन आउँदा --"ओस्ताजले कुरा पुरा गर्न पाएन बाङ्गेले रोक्यो "मास्टर गाँजा खाएर आउँदा हेडमास्टरले केही भन्दैन?"